हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मूलुक दुईचार सपूत मरेर नगए ।।
भूपी शेरचन ( शहीदको सम्झना )
नेपालका प्रथम शहीद लखन थापा मगरको जन्म शहीद लखन गाउँपालिका वडा नं ७ बुँकोट काहुले भंगारमा भएको थियो । सानैदेखि तीक्ष्ण बुद्धि र दुरदर्शी लखन राणा र शाहवंशका उच्च बर्गीय व्यक्तित्वहरुका छोराछोरीले मात्र पढ्न पाउने, सारा नेपालीको हक अधिकार खोसिएको प्रति रुष्ट बन्दै राणाविरोधी बन्न वाध्य भएका थिए ।
नेपाली जनताको स्वतन्त्रता र मौलिक अधिकार प्राप्ति र सार्वभौमिकताको लागि आफ्नै सहयोद्धा जैसिंह चुमी राना मगरको सहयोगमा राणाविरोधी जनविद्रोहको शंखघोष गर्ने महान व्यक्तित्वको रुपमा लखनलाई लिन सकिन्छ ।
लखन थापा मगर पुरानो गोरख गणमा बहाल रहेको समयमा वि.सं. १९१४ भारतमा भएको सिपाही विद्रोह शान्त पार्न नेपालको तर्फबाट लखनऊ पुगेका थिए । विद्रोह रोकिएपछि भारतीय सैनिकहरुले आफ्नो राष्ट्रप्रति देखाएको स्वाभिमान र देशभक्तिबाट प्रभावित भई नेपालमा भैरहेको हुकुम राणाविरुद्ध आम नेपाली जनताले स्वतन्त्रता र मुक्तिको लागि एकजुट भएर लड्न आवश्यक देख्दै तत्कालिन राणा प्रधानमन्त्री श्री ३ जंगवहादुर राणा विरुद्ध जनतालाई चेतनशील, जागरुप बनाई विद्रोहमा उत्रिएको पाईन्छ ।
वि.सं. १९१० को मुलुकी ऐन मार्फत जंगबहादुर राणाले प्रचलित मान्यता विपरीत नेपाली समाजलाई तागाधारी, मतवाली, पानी चल्ने र पानी नचल्ने गरी चार समूममा बर्गीकरण गरी जातजाती अनुसार दण्ड सजाँएको व्यवस्था गरे । ब्राम्हणजातिलााई जस्तै सजाँए गरेपनि मृत्युदण्डबाट उन्मुक्ति पाउने छुट भयो भने अन्य जातिले मृत्युदण्डका सिकार बन्नुपर्दथ्यो । यसरी नङ र मासु मिलेर बनेको नेपाली समाजमा जातिपाती र छुवाछुुत एवं भेदभावको विजारोपण गर्ने जंगबहादुरको ज्यादै निन्दनीय कार्यप्रति जनताहरुलाई जनचेतना फैलाई राणाविरोधी बनाएका थिए ।
लखन थापा मगर जंगबहादुरको निरंकुश, अधिनायकबादी जहानिया शासन विरुद्ध लड्न करिव दुईहजारको संख्यामा जनमिलिसिया तयार गरेका थिए । यस जनमिलिसियामा विविन्न सैन्य फर्मेसन भएको थियो जसमा जैसिंह चुमी रानालाई जनरल एवं सेनापति बनाएर जनस्तरबाट जंगबहादर विरुद्ध पहिलो सैनिक गठन, बैकल्पिक सत्ता संचालन गरि जंगबहादुरको मुटु हल्लाउन सफल भएका थिए ।
सनातन धर्मप्रति विश्वास र आस्था राख्ने तत्कालिन जनताहरुको समर्थन जुटाउन आफ्नो किल्ला परिसरमा मनकामना माईको मन्दिर र जोसमनी सम्प्रदायको समेत स्थापना गरी वाहिरी रुपमा धर्मको प्रचार गरे जस्तो गरी भित्र भित्र गाउँगाउँमा राणाविरुद्ध जंगबहादुरले नेपाल भ्लेच्छ ( अंग्रेजलाई बेच्यो ), दुनियाँलाई त्राई त्राई पारिरहेको छ, जंगबहादुरलाई हटाई नेपालमा सत्य युग फिराऊ भनेर मलाई मनकामना माताले बरदान दिएकी छन्, लौ भाई हो तयार होऔं भनेर जनताहरुलाई राणातन्त्र विरुद्ध एकजुट भई विद्रोहमा लाग्न आह्रान गरेका थिए ।
यसरी लखन थापा मगरले गरेका आफूविरुद्धको काम आफ्ना गुप्तचरबाट थाहा पाएका चतुर राणा प्रधानमन्त्री जंगबहादुरले कुनै समयको खेरा नफाली विद्रोह रोक्न आफ्ना भाई धिरशमशेरको नेत्रित्वमा गोरखामा सेना पठाईयो । जंगेको सेना र लखनथापाको सेनाविच भिषण युद्ध भयो । विद्रोही यानकी लखन थापा मगरको जनमिलिसियाको गोलीबारुद सकिएपछि युद्ध रोकियो ।
लखन थापा लगायतलाई आत्मसमर्पण गर्नलगाईयो उनीहरु नमानेपछि बाँसको पिँजडामा कैद गरी काठमाण्डौ थापाथली दरबारमा पु¥याई कोर्रा ठोकी कडा यातना दिईयो । कतिपयले यातनाले आत्मसमर्पण गरे भने लखन थापा मगर जयसिंह चुमी राना मगरले आत्मसमर्पण गरेनन् । बरु आफ्नै किल्ला परिसरमा फाँसीको डोरीमा झुण्डिएर मर्न तयार भए ।
त्यसपछि सर्वप्रथम लखन थापा मगरलाई छाला काडेर बर्बर ढंगबाट वि.सं. १९३३ मा काहुले भंगारको किल्लाभित्रको रुखमा फाँसी दिईयो । यस्तैगरी उनका सहयोद्धा जयसिंह चुमी राना मगर लगायतलाई पनि फाँसीमा झुन्याईयो । यसरी नेपालका राणाविरोधी युवाहरुलाई हत्या गरिएका लखन थापालाई वि.सं २०७३ साल असोज ३ गते बसेको मन्त्रीपरिषदको बैठकले पश्चात पहिलो शहीदको रुपमा घोषणा गरको छ ।
अन्त्यमा प्रथम शहीद लखन थापा मगर सबै जात, धर्म, जाति, सम्प्रदायका साझा सम्पत्ति हुन् । उनी र उनका सहयोद्धाको योगदान हामी सवैका लागि प्रेरणाको श्रोत हो ।
उनले नेपालमा सवैभन्दा पहिले राणाविरुद्ध गरेको संघर्ष नेपालको ईतिहाँसमा स्वर्ण अक्षरले लेखिएको छ । आधुनिक समृद्ध नेपाल वन्नुमा उनी लगायत उनका योद्धाहरुको महत्वपूण भूमिका छ । यस्ता युगपुरुषलाई मेरो तर्फबाट हार्दिक सलाम ।