काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको बताए । उनले भने, ‘अब छिट्टै नै आमजनमानसमा खोप अभियान लगेर जाने तयारीमा छौं, २० लाख मात्रा खोप आउने प्रक्रियामा छ।’
सरकारले दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिलाई राखेको छ । यस्तै, तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूह, १५ देखि ३९ वर्षसम्मको उमेर भएका व्यक्ति पर्छन्।
आइतबारदेखि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाइरहेको छ । यो अभियानमा करिब ३ लाख मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ।
खोप विज्ञका अनुसार कुनै व्यक्तिले भ्याक्सिन लगाइसकेपछि कोरोना संक्रमण भएपछि सो व्यक्तिलाई कोरोना हुँदैन तर रोग नलागे पनि सो व्यक्तिमा कीटाणुहरू हुन्छन् । त्यसकारण सो व्यक्तिले अरूलाई सार्न सक्छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले पहिलो चरणमा ५५ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप उपलब्ध गराउनुपर्ने बताए । अहिले कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्ने बताए।