काठमाडौं– साउदी सरकारले बिदामा रहेको आप्रवासी कामदार भिषाको अवधि सकिनुअघि नै काममा नफर्किएमा ३ वर्षसम्म देशभित्र प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । पूनः प्रवेश भिषामा नयाँ व्यवस्था लागू गर्दै सरकारले यस्तो प्रतिवन्ध लगाएको हो ।
रियादस्थित नेपाली राजदूतावास ले बैदेशिक रोजगार विभागलाई पत्राचार गरेपछि विभागले आइतबार साँझ सूचना जारी गरी यसको जानकारी गराएको छ ।
तर जुन कम्पनीबाट पुनः प्रवेश भिषामा गएको हो, त्यसै कम्पनीमा नयाँ भिषामा आउन अनुमति पाएमा उक्त अवधिअघि आउन बाधा नपर्ने साउदी अरेबियाको अध्यागमन कार्यालयलाई उद्वृत गर्द विभागले जनाएको छ ।
पछिल्लो केही दिनयता साउदी अरबमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले संक्रमण कम गर्न स्वास्थ्य प्रोटोकलमा पनि कडाइ गरेको छ ।
व्यापारिक मलमा जाने हरेकले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको तावाक्कालाना मोबाइल एप्स आफ्नो मोबाइलमा अनिवार्य डाउनलोड गरेको हुनुपर्ने छ ।
साउदी सरकारले यसअघि २०२१ मार्च २१ बाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमनमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेकोमा यसलाई २०२१ मे १७ सम्मका लागि लम्ब्याइएको छ ।
यसैगरी विभिन्न २० देशबाट हुने आप्रवासी कामदारको आवागमनलाई समेत अस्थायी रुपमा स्थगित गरिएको छ ।