काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा उनले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन्।
उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताए।
उनले भने, ‘सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनताको जित भएको छ। संविधानवादको जित भएको छ र नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ। समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ। साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्वपुर्ण भूमिका खेलेको छ।’
उनले अगाडि थपे, ‘फैसलाको प्रारम्भीक अध्ययन गर्दा राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाको बारेमा स्पष्ट मार्गनिर्देश गरेको छ। पुस ५ गतेदेखि आजको दिनसम्म बहसको बिचबाट यसले संविधानको रक्षा मात्रै होइन विकास र सम्मृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको छ। सभामुखको हैसियतले म के भन्न चाहन्छु भने मैले सपथ लिएकै दिन संसदलाई जीवन्त र जनमुखी बनाउने भनेर संकल्प गरेको थिएँ। त्यो संकल्प पुरा गर्नका लागि आधारशिला खडा भएको छ।’