काठमाडौं- काठमाडौंको तारकेश्वरमा बर्डफ्लु संक्रमण देखिएकाले झन्डै साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिँदै पशु सेवा विभागले यो नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गरेको छ।
विभागले बिहीबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको हो।
बर्डफ्लु रोग तुरुन्त नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धि सबै निकाय परिचालन गरी संक्रमण फैलिन सक्ने पन्छीलगायत सबै वस्तु नष्ट गरिएको छ।
विभागका अनुसार बर्डफ्लु देखिएको क्षेत्रका ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की र १७ बट्टाई नष्ट गरिएको हो।
यसैगरी ३५७० वटा अन्डा, ३ हजार केजी दानासमेत नष्ट गरी सुरक्षित स्थानमा विसर्जन गरी संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निःसंक्रमण (संक्रमणरहित) पारिएको दाबी विभागका महानिर्देश दमयन्ती श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।