गोरखा- जोखिम न्यूनीकरण र पूर्वतयारी नामक सचेतना मूलक पुस्तक आज (शुक्रबार) लोकार्पण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुंङ्गले सदरमुकाममा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गरेका हुन् ।
मनसुनजन्य विपद्का कारण क्षति भएका निजीआवासको पुनर्निर्माण लगायत विविध विषयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पुस्तक लोर्कापण गर्दै प्रजिअ भट्टराईले प्राकृतिक विपद् जोखिम न्यूनीकरण कसरी गर्ने र पूर्व तयारी अवस्थामा रहने भन्ने सम्बन्धी सचित्र विवरण समेटिएको पुस्तकले समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना, गोरखाले प्रकाशन गरेको पुस्तक गोरखाका प्रत्येक पालिका तथा वडामा पुर्याईने परियोजनाका जिल्ला संयोजक राम सापकोटाले बताए । पुस्तकमा भुइँचालो, पहिरो, उच्च हावाको बहाव, आगलागी, बाढी र चट्यांग जस्ता विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीबारे सचित्र जानकारी समेटिएको छ।