काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताएकी छन्।
शुक्रबार कृषिसम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरुसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु नपर्ने बताएकी हुन्।
मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि बताइन्। मन्त्री अर्यालले भारतको खुल्ला सिमानाबाट अवैध रुपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनको निम्ति प्रयत्न गर्ने बताइन्।
उनले भनिन् ‘तपाईहरुलाई ढुक्कको साथ भन्छौँ अब कृषि मन्त्रालयमा रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु पर्दैन। त्यसको आवश्यकता पूर्ति गर्नेगरी हाम्रो क्षमतालाई विकास गरेर हामी अगाडी बढ्याछौँ। खुल्ला सिमानालाई अहिले बन्द गर्न सकिँदैन। ठ्याक्कै बन्दै गर्छौ भनेर जान सक्दैनौँ तर सिस्टममा ल्याउनको निम्ति हामी प्रयत्न गर्छौ। खुल्ला सिमानाको कारणबाट मल भित्रिने र त्यसबाट हुने जे विकृतिहरु छन् त्यसलाई ब्यवस्थित गर्नको निम्ति हाम्रो ध्यान पुग्छ र हामी गर्छौ।’
मन्त्री अर्यालले आफ्नो कार्यक्षेत्रभित्र नभएपनि उखु किसानको समस्या समाधान गर्न पहलकदमी लिएको बताइन्। हालसम्म ४३ करोड रुपैयाँ रकम भुक्तानी समेत भइसकेको उनले बताइन्।
मन्त्रालयले नेपाल राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयनमा ल्याएको, डिजिटल माटोको नक्सा शुरु गरेको, नेपाली कृषिमा इजरायलको प्रविधि प्रयोग गर्ने गरी नेपाल र इजरायलबीच समझदारी भएर काम शुरु गर्न लागेको तथा खाद्य भण्डार स्थापना गर्ने लगायतका कार्यक्रमहरु शुरु गरेको बताइन्।