काठमाडौं- मोरङको उर्लाबारी घर भएकी १५ वर्षीया बालिकालाई भाडाको कोठामा बन्धक बनाएर एक व्यक्तिले बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ।
बालिकामाथि बारम्बार बलात्कार र यौन शोषण गरिएको घटनामा संलग्न सुनसरीको इटहरी उपमहानगरपालिका-५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्की पक्राउ परेका छन्।
कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेको हो। बलात्कारमा संलग्नलाई पक्राउ गर्दै बालिकालाई उद्धार गरिएको जानकारी बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले दिए।
एक सातादेखि कोठा भाडामा लिएर बन्धक बनाउँदै बलात्कार गरिएकी बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन्। मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा बालिकाको उद्धार गरिएको जानकारी प्रनि ढकालले दिए।
तनावबाट मुक्त गर्दै बालिकालाई पीडित भएको महसुस नगराइकन पुरानै अवस्थामा फर्काउन ‘काउन्सिलिङ’को खाँचो देखिएको उनले बताए। प्रहरीले उद्धार गर्दा त्रसित मुद्रामा डाँको छाडेर रोइरहेकी बालिका निक्कै डराएकी र विक्षिप्त अवस्थामा रहेकाे खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।
उनले आफूमाथि भएको घटनालाई राम्ररी प्रस्तुत गर्न सकिरहेकी थिइनन्। तर बेलबारीमा कार्यरत महिला प्रहरीले ‘काउन्सिलिङ’ गर्दै अवस्थालाई सामान्य बनाएपछि उनले आफूमाथिको अत्याचार र चरम यातना दिएर गरिएको बलात्कारका बारेमा बताउन सक्ने अवस्था बन्यो। ढकालका अनुसार राम्रो पैसा कमाई हुने प्रलोभन देखाएर काममा लगाइदिने आवश्वासन दिँदै कार्कीले बालिकामाथि बलात्कार गरिरहेको खुलेको छ।