काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई नेकपाको संसदीय दलको नेता विधिवत् रुपमा फेर्न चुनौती दिएका छन् ।
पोखरामा प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् । ओलीले संसदीय दलको बैठक बोलाइदिने र त्यसबाट आफूलाई हटाउन भनेका हुन् ।
‘अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो, महासचिवले बोलाएको बैठकमा आउनुपर्यो, दलको नेताले बोलाएको बैठकमा आएनुपर्यो । उहाँहरू दलको नेता फेर्नुस् न ! विधिवत फेर्नुस्, बैठक बोलाइदिन्छु । आउनुस् न विधिवत,’ उनले भने ।
उनले प्रक्रियागत रुपमा आफूलाई हटाए बाँकी डेढ वर्ष प्रतिपक्षमा बस्ने समेत संकेत गरे ।
‘विधि, पद्धति, संसदीय अभ्यास, संविधान, कानुन, नियमावली छ । उहाँहरू अपराधै गर्न सफल हुनुभयो भने पनि हामी मान्छौं । मानेर केही बिग्रिँदैन, डेढ वर्ष प्रतिपक्षमा बसौंला, डेढ वर्षपछि दुई तिहाई लिएर जाउँला,’ ओलीले भने ।
‘बैठक बोलाएका ठाउँमा नआएर हामीसँग बहुमत छ भन्नुभएछ । त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो बहुमत होइन,’ उनले भने । विधि र पद्धतिबाट आफूलाई हटाउनुपर्ने र आफूले कुनै छलछाम नगर्ने प्रधानमन्त्री ओलीले बताए ।