काठमाडौं- नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भएको आज ठ्याक्कै दुई सय पाँच वर्ष पुगेको छ।
नेपाललाई मेची र कालीबीच सीमित गर्ने यो संवेदनशील सन्धिको सक्कल प्रति नै नेपालसँग नभएकाे खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।
सुगौली सन्धिका आधारमा नेपालले ४० हजार वर्गकिलोमिटर (करिब एकतिहाइ) भूभाग गुमाएको छ । तर, बचेको भूभागमा पनि स्पष्ट सीमांकन नहुँदा नेपाल र भारतबीच सीमा समस्या तरल अवस्थामा छ ।
एकीकरण गर्दैै फैलिएको गोर्खाली सैनिक र भारतमा उपनिवेश बलियो बनाउँदै लगेको ब्रिटिस सैनिक आमनेसामने भएपछि सुगौली सन्धिको पृष्ठभूमि बनेको थियो।
खासगरी गोर्खा राज्य विस्तार रोक्न सन् १८१४ नोभेम्बर १ मा बेलायतले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो । सीमाविद् वुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘खासगरी बुटवलको पालिही, स्युराज, माझखण्ड, खजहनीमा भारतले दाबी गर्यो । ती भूभाग लखनउको नबाबको भएकाले भारतको पर्छ भन्ने अंग्रेजको दाबी थियो । नेपालको भनाइ त्यो पाल्पाको सेन राजाको हो, सेन राज्य नेपालमा गाभिएपछि त्यो भूभाग स्वतः नेपालको हो भन्ने यताको तर्क थियो । यसैलाई लिएर अंग्रेजले सन् १८१४ मा युद्ध सुरु गर्यो।’
दुई वर्ष चलेको युद्धपछि अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति तथा मैत्री सन्धिको मस्यौदा पठाएको हो ।
‘१५ दिनभित्र सन्धि अनुमोदन गरेर पठाउन भनिएको थियो, तर नेपालले मानेन । काठमाडौंमा भएका तत्कालीन भाइभारदारको बैठकमा मान्नुपर्छ र मान्नुपर्दैन भन्ने दुवै मत रह्यो । अन्योलबीच केही समय नेपालले हस्ताक्षर गरेन,’ श्रेष्ठ भन्छन्, ‘तर, अंग्रेजले अब काठमाडौं र पूरै नेपाल नै कब्जा गर्ने प्रचारबाजी गरेपछि बाध्य भएर नेपालले सन्धिमा हस्ताक्षर गरेको हो, राज्यको प्रतिनिधित्व सुगौली पुगेका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिमा हस्ताक्षर गरेका हुन् ।’
हाल मकवानपुरको हेटौँडा नगरपालिका– ९ मा रहेको सुगौली भन्ने ठाउँमा सुगौली सन्धिमा नेपालले हस्ताक्षर भएको श्रेष्ठको दाबी छ । ‘भारतको रक्सौलभन्दा उतातिरको सुगौली भन्ने पनि छ, तर मेरो अध्ययनमा मकवानपुरको सुगौलीमा हस्ताक्षर भएको हो । यो सन्धिले नेपालको एकतिहाइ भूभाग गुम्यो, दुई खण्ड बच्यो । सन्धिबाट अंग्रेजलाई फाइदैफाइदा, नेपाललाई घाटैघाटा भयो,’ उनी भन्छन्।