काठमाडौं- नेकपाका नेता माधव नेपालले नेकपा (एमाले) इतिहासको विषय भइसकेको बताएका छन्।
सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरेर साविकको एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एमाले इतिहासको विषय भइसकेको र अब ओलीले बोलाएको एमालेको बैठकमा कोही सहभागी नहुने बताएका हुन्।
प्रस्तुत छ आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित नेता नेपालको अन्तर्वार्ताको सार संक्षेप :
सर्वोच्च अदालतको फैसलाले नेकपाको एकतालाई नै बदर गरेको छ । फैसलाको संवैधानिक र कानुनी अर्थलाई कसरी बुझ्नुभएको छ?
बडो विचित्रको फैसला भएको छ । अब यो फैसलापछि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभामा नेकपाबाट निर्वाचित भएका सांसदहरू कहाँ जान्छन्? स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको हैसियत के हुन्छ? त्यसकारण निवेदकले पनि माग नगरेको विषयमा प्रवेश गरेको देख्दा मलाई बडा आश्चर्य लागेको छ । यो फैसलासँग कोही सन्तुष्ट भएको पाइँदैन । यसबारे हामीले न्यायिक पुनरावलोकन गर्ने दिशामा जाने स्थिति बन्छ नै ।
संवैधानिक निकाय निर्वाचन आयोगले ३ जेठमा बुझाइएको चार सय ४१ जनालाई चिन्छौँ भनेर गरेको निर्णयलाई कसले प्रश्न खडा गर्न सक्छ?
फैसला कति संगतिपूर्ण, कति असंगतिपूर्ण छ भन्नेमा धेरै प्रश्न खडा भएका छन् । सर्वोच्च अदालतमा त्यो तहमा भएका न्यायाधीशहरूको फैसलाले धेरै संवैधानिक, कानुनी जटिलता खडा गरेको मैले पाएको छु । त्यसैले यसबारे विचार पु¥याउनुपर्ने आवश्यकता छ । किनभने पार्टी एकताबद्ध भइसकेको छ ।
बच्चा जन्मिसकेपछि गर्भभित्र जाउ भन्ने कुरालाई कसैले मान्नेवाला छैन । नेकपा एमाले इतिहास भइसकेको छ । ०७१ मा महाधिवेशन भएकोमा पाँच वर्ष पनि पूरा भइसक्यो, बढीमा ६ महिनासम्म अवधि लम्ब्याउन सक्ने अवस्थामा ०७६ मै समय पुगेर वैधता पनि समाप्त भइसकेको छ । अर्को एमाले नामको पार्टी दर्ता भइसकेको छ ।
त्यसैले नेकपा एमालेमा फर्किने कुनै सम्भावना छैन । नेकपा माओवादी केन्द्र अर्को दर्ता भइसकेको छ, त्यसमा पनि फर्किने कुनै सम्भावना छैन । फैसलाबारे क्रिया, प्रतिक्रिया आइरहेका छन्, कानुन र न्याय बुझेकाहरू पनि कोही सन्तुष्ट छैनन् ।