काठमाडौं- ‘आऽऽऽ, कति किचकिच गर्नु, अब छाडिदिऊँ…!’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसो भन्न गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उनको जवाफ थियो, ‘उपाय अनेक छन्, चूप लागेर बस्नुस्!’
सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेजी र एमाले–माओवादीको पूर्ववत् हैसियत चित्रण गर्दै आइतबार अपराह्न फैसला सुनाउनुअघि ओली निकटस्थ मानिने मुख्यमन्त्री गुरुङ उहाँलाई पद छाड्न सुझाव दिइरहेका थिए । तर, प्रधानमन्त्रीमा झन् बढी आत्मविश्वास झल्किरहेको थियो। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
आइतबार सर्वोच्चले दिएको फैसलाबारे प्रधानमन्त्रीसँग करिव ९-१० महिनाअगाडि नै सूचना थियो– चिज भनेजसरी अगाडि बढ्छ । उनले नेकपा विवाद उत्कर्षमा पुगिरहेको बेला तीन महिनाअगाडि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेका थिए- ‘सँगै जान सकिएन, त्यसैले मिलेरै फुटौँ । ऋषि कट्टेलको मुद्दा सर्वोच्चमा छ क्यारे, त्यसैलाई मिलाएर हामी आ–आफ्नो बाटो लागौँ, एकतालाई भंग गरेर अगाडि बढौँ।’
आइतबार प्रधानमन्त्रीले तीन महिना पहिल्यै बोलेको भाषा जस्ताको तस्तै उत्रिने गरी फैसला आएको छ । यसलाई संयोगमात्रै भन्न नमिल्ने राजनीतिक विश्लेषकहरुको ठम्याई छ।
निर्वाचन आयोगमा दलसम्बन्धी विवाद चलिरहँदा आफू स्पष्ट अल्पमतमा परिसकेर पनि उनी नयाँ दल दर्ताका निम्ति गएनन्, फेरि अध्यादेश ल्याएर आफू सुरक्षित हुन पनि खोजेनन् । बरु, देश दौडाहामा निस्किरहे । संसद बैठकको दुई दिनअघि बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका सांसदहरुको भौतिक उपस्थिति जम्मा ६१ जनाको थियो। तर, ‘१ सय १५ को संख्या पुगिसक्यो, यो बढ्दै जान्छ’ भनेर आफ्ना निकट नेतामार्फत फेरि उत्तिकै आत्मविश्वासका साथ बाहिर गएर बोल्न लगाए।