कैलाली- कैलालीमा नेकपा (एमाले)का दुई पक्षबीच झडप भएको छ। बुधबार एमालेकाे सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रदेश इन्चार्जको नेमप्लेट राख्ने विषयमा विवाद भएपछि दुई पक्षबीच झडप भएको हो।
विवादपछि एमालेको सुदूरपश्चिम प्रदेश कार्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। सुरुमा एमालेको माधवकुमार नेपाल पक्षले बोर्ड राेखका थिए। जसमा प्रदेश इन्चार्जमा भीम रावलको नाम लेखिएको थियो।
तर, प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरूले त्यसलाई हटाएर लेखराज भट्टको नेमप्लेट राखेपछि विवाद बढेको हो। उनीहरूले भीम रावलको नेमप्लेट फुटाइदिएका छन्।
साविक एमालेमा रावल नै प्रदेश इन्चार्ज थिए। भट्ट पूर्व माओवादी नेता हुन्। ओली नेतृत्वको सरकारमा उद्योग मन्त्री समेत रहेका उनी नेकपा विभाजित हुँदा ओली पक्षमा लागेका थिए। नेकपा हुँदा ओली पक्षले उनलाई सुदूरपश्चिम इन्चार्ज बनाएको थियो।
नेकपा नाम विवाद मुद्दामा फागुन २३ गते फैसला गर्दै सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी ब्युँताइदिएको थियो।