काठमाडौं- इलाम माई नगरपालिका-८ मैनाचुलीकी सिर्जना लावती राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घन्टाको बाटो ओरालो झर्छिन् । बिहान ६ नबज्दै खोल्सामा रहेको धारामा पानी थाप्न पुगेकी सिर्जना घर आइपुग्दा १० बज्छ।
‘एक गाग्रो पानी थाप्न दुई घन्टाभन्दा बढी त पालो नै पर्खनुपर्छ’, सिर्जना भन्छिन् । भरिएको गाग्रो डोकामा बोकेर नाक ठोकिने उकालो झन्डै एक घन्टा हिँडेपछि बल्ल घर पुग्छिन् । यसरी कष्टकर रूपमा पानी बोक्नु उनको एक्लो बाध्यता हैन, सिंगो मैनाचुली गाउँकै नियति हो।
‘पानीको दुःखको त कुरै नगरौँ । बिहान ६ बजे आएको मान्छे १० बजे मात्र घर पुगिन्छ । नाक ठोकिने उकालो ४५ मिनेटसम्म पानी बोकेर जानुपर्छ । हामीलाई अलिक नजिक हो । अरूलाई त दुई घन्टासम्म लाग्छ,’ उनी भन्छिन्, ‘हामीलाई सरकारले कम्तीमा पानीको व्यवस्था गरिदिए हुने । तर, सबैले आश्वासन मात्र दिन्छन् । कसैले पानीको व्यवस्था गरिदिँदैनन्,’ उनी भन्छिन्।
गाउँमा खानेपानी छैन । खानेपानीका लागि सरकारी तवरबाट कुनै पहल पनि भएको छैन । तर, डाँडाबाट झापासम्मको दृश्य हेर्न प्रदेश सरकारले ४० लाखको योजना त्यहाँ पारेको छ।
मान्छेका लागि खानेपानी त जसोतसो बोकेर ल्याउँछन्, मैनाचुलीवासी । तर, घरमा पालेका गाईबस्तुलाई पानी खुवाउन समस्या रहेको गौरीमाया बताउँछिन् । ‘हामीले त बोकेर खाएका छौँ । घरमा गाईबस्तु पाल्नैपर्छ । गाईबस्तुलाई पनि खुवाउनैपर्छ । गाईबस्तुलाई खुवाउन भने समस्या छ,’ उनी भन्छिन्, ‘तल खोला छ त्यहीँ पानी खुवाउन लैजाने गरेका छौँ । तीन घन्टाजति लाग्छ खोला पुग्न।’
मैनाचुली र लोसे क्षेत्रमा करिब ७० घरपरिवार छन् । अधिकांश जनजाति समुदायका छन् । उनीहरूले यसरी नै दुःख गरेर पानी बोक्नुपर्ने समस्या छ । यहाँ वृद्धवृद्धालाई पानी बोकेर खान निकै मुस्किल छ।
मैनाचुली र लोसे ‘बत्तीमुनिको अँध्यारो’मा पर्छ । यो इलाम निर्वाचन क्षेत्र २ मा पर्छ । यहाँबाट निर्वाचित सुवासचन्द्र नेम्वाङ संविधानसभा अध्यक्ष बने । उनी नेकपामा पहुँचवाला नेताका रूपमा चिनिन्छन् । तर, उनको क्षेत्र अहिले पनि ‘इलामको कर्णाली’ नामले चिनिएकाे खबर आजको नयाँ पत्रिका दैनिकमा चिरञ्जीवि घिमिरेले लेखेका छन्।