काठमाडौं- पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।
बैठकको मिति तय भए पनि स्थान भने अझै टुंगो नभएको रिजालले बताएका छन् । माधव नेपाल पक्षले बालुवाटारमा बैठक बोलाइए नजाने निर्णय गरेको छ । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।
बैठकको रणनीति र एजेण्डाहरु तय गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेताहरुसँग परामर्श थालेका छन् । यसबीचमा आफ्नो सरकारमा रहेका पुनःस्थापित माओवादी केन्द्रका नेताहरुसँग चरण चरणमा उनले छलफल गरेका थिए ।