काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको छ ।
एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बढेर गएपछि बहुमत जुटाउने प्रयासहरू भइरहेका बेला जसपाले नेतृत्वमा दाबी गरको हो । जसपाका नेता राजकिशोर यादवले सरकारको नेतृत्वमा आफूहरूको पनि दाबी रहेको बताए ।
प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भएको वार्ता सकारात्मक रहेको जनाएका यादवले शुक्रबार बस्ने जसपाको संसदीय दलले सरकारको नेतृत्व दाबी गर्न सक्ने बताएका छन् । उनले सरकारमा जान जसपाका केही सर्तहरू रहेको भन्दै सर्त पूरा गर्न परारम्भीक चरण पार गर्नुपर्ने बताए ।
नेता यादवले जसपामा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव प्रधानमन्त्री बन्ने क्षमता राख्ने बताए । उनले भने, ‘जसपाले नेतृत्व पायो भने तीन जना नेताहरू हुनुहुन्छ । सहमति गरेर एक जना नेताले नेतृत्व दिनुहुन्छ ।’
एमालेको अहिलेको सरकारलाई नेकपा (माओवादी) केन्द्रको समर्थन छ । माओवादीले समर्थन फिर्ता लियो भने के गर्ने भन्नेमा प्रधानमन्त्री ओली पहिलानै तयारी अवस्थामा रहन चाहन्छन् । ओलीले जसपाका मागहरू पूरा गरेर एमाले र जसपाको गठबन्धनमा सरकार बनाउने पक्षमा छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले एमालेसँग मिलेर सरकार बनाउन रुचि देखाएका छैनन् । उनीहरूले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर मात्रै नयाँ समीकरण गरेर जानुपर्ने पक्षमा धारणा राख्दै आएका छन् ।