काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।
बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।