काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्देश्य नै कम्युनिस्ट आन्दोलन विघटन गर्नु रहेको आरोप उपमहासचिव घनश्याम भूसालले लगाएका छन्। ओली पक्षद्वारा एकलौटी रुपमा विभिन्न निर्णय भएसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘आज जुन निर्णय भयो भनेर समाचार आएका छन्। त्यसको प्रतिकार हुन्छ,’ उनले भने, ‘ओलीले अहिले जुन निर्णय गरेका छन्। त्यसलाई असफल बनाइन्छ। यसको राजनीतिक र वैचारिक रूपमा प्रतिकार गर्ने कुरा छँदै छ। कानुनी रूपमा प्रतिकार हुन्छ।’
शुक्रबार एमाले अध्यक्ष ओलीले लगातार दुईवटा बैठक राखेर माधवकुमार नेपालसहितका नेतालाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका छन्।
त्यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमाओवादीबाट एमालेमा आएका २३ जनालाई विभिन्न पदमा मनोनयन गरेका छन्।भुसालले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा छलफल भइरहेको बताएका छन्।
‘कसैलाई मन लाग्यो भन्दैमा विधानमा रहेको व्यवस्था नाघेर जान नसक्दैन,’ भुसालले भने, ‘ओलीले एमालेको संगठन छिन्नभिन्न पार्दै समाप्त पार्न खोजेका छन्। त्यस्तो हुन दिने छैनौं।’