काठमाडौं- पुनस्थापित नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक डाकेर गरेका निर्णयहरुप्रति असन्तुष्टि जनाएका छन् ।
यो कदमले ओलीसँग मिल्ने सम्भावना समाप्त भएको उनको प्रतिक्रिया छ । गौतमलाई उद्वृत गर्दै उनका प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना अब रहेन ।’
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि अभियान सञ्चालन गरेका थिए ।
अदातको फैसलाले एमाले र माओवादी ब्यूँतिएपछि उनले एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने मत राखेका थिए । तर, ओलीले आज माधव नेपाल पक्षलाई थाहा नदिइकन पार्टीका जिम्मेवारी हेरफेर र केन्द्रिय कमिटी विस्तार गरेपछि गौतमको असन्तोष सार्वजनिक भएको हो ।