काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले आफ्नो समूहको बैठक बोलाएको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी छुट्टै पार्टी संरचना खडा गरेसँगै सो समूहले पनि बैठक बोलाएको हो।
नेपाल– खनाल समूहले पार्टीमा समानान्तर छुट्टै कमिटी बनाउन डाकेको बैठक बिहान ११ बजे अर्याल होटलमा बस्दै छ।
शुक्रबार ओली पक्षधरको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।
नेपाल पक्षले त्यो बैठक नै नभएको र त्यस्ता बैठकलाई विधानले नचिन्ने भन्दै त्यसलाई खारेज गरिएको बताएको छ।