काठमाडौं-नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ।
अहिले दुई दल विभाजनसँगै विकास भएको नयाँ घटनाक्रममा कांग्रेस फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।
तर अहिले नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा आएको खबर आजको नागरिक दैनिकले छापेको छ।
आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ।
जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा पार्टीका अन्य नेतालाई कांग्रेस वा माओवादी नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्न नैतिक संकट पर्नेछ।
माओवादी नेतृत्वमा अहिले नयाँ सरकार गठनको सम्भावना निकै कम छ । ओलीको विकल्पमा माओवादी केन्द्रले कांग्रेस वा जसपामध्ये कुनै एकको नेतृत्व स्वीकार गरेर अघि बढ्ने नेताहरूको बुझाइ छ।
त्यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर मुख्य दाबेदार हुन् ।
पार्टीको १४औं महाधिवेशन संघारमै आइपुगेकाले देउवा मुलुकको कार्यकारी प्रमुख हुँदा त्यसको असर महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा पनि पर्ने कांग्रेस नेताहरूको बुझाइ छ।
प्रधानमन्त्रीसहित पार्टी सभापतिका लागि देउवा अघि बढ्दा उनलाई रोक्न सहज नहुने संस्थापन इतर पक्षको बुझाइ छ ।
त्यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्रीमा रोक्न मधेसबाट लामो समयदेखि राजनीति गर्दै आएका पार्टीकै पूर्वनेता ठाकुरलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न कांग्रेसलाई धेरै कठिन नहुने नेताहरूको बुझाइ छ।