काठमाडौं- सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ ।
पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो ।
यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ । सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह छ ।
यसअघि शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर विभिन्न जिम्मेवारी हेरफेर गरेका थिए । त्यसैको परकम्पस्वरूप नेपाल पक्षले पनि शनिबार बैठक राखेर समानान्तर कमिटी बनाएको हो ।
अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपाल पक्षका नेता एकअर्कालाई सिध्याउने र देखाइदिने अराजनीतिक संस्कारसहित अघि बढेको भन्दै कार्यकर्ता रुष्ट छन् । उनीहरूले पार्टी जोगाउन दुवै पक्षलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शुक्रबार नेताको जिम्मेवारी हेरफेर गरेलगत्तै वरिष्ठ नेता नेपाल समूहले समेत शनिबार आफ्नो गुट भेलाबाट समान्तर कमिटी विस्तार गरेको छ । शनिबार नेपाल समूहको स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ ।
नेपाल समूहले यो साता एमाले सांसद र केन्द्रीय सदस्यको छुट्टाछुट्टै भेला गरेका थिए । लगतै शुक्रबार ओली समूहले समेत केन्द्रीय सदस्यको भेला प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना ग¥यो । सोही भेलालाई आधिकारिक केन्द्रीय कमिटीको बैठक भन्दै महत्वपूर्ण निर्णय गरेपछि नेपाल र खनाल समूहले सो निर्णय अस्वीकार गरी प्रदेश इन्चार्ज तथा विभागीय जिम्मेवारी तोकेको हो ।
माधव नेपालले भने–पार्टी दुई भयो
बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको भन्दै पार्टी विभाजनतिर पुगेको बताए ।
‘अब ओलीसँग फर्किने सम्भावना छैन । चैत ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन । अब अलग अलग ढंगले जान्छौं ।’
देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको पनि दावी गरे ।
‘सांसदहरुले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौँ भनेर भन्नु भएको छ । आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो’, उनले भने, ‘ चमत्कार नै भएमात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’
उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम एकताको पहल थालिने पनि बताए । अहिले नै आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने उनको विश्वास छ ।
‘जेएन खनाल सँगै हुनुहुन्छ, वामदेवजी पनि यही आउनुहुन्छ । एमालेका बहुमत नेता कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ’, नेपालले भने।
नेपाललाई कारबाहीको चेतावनी
यसैबीच ओलीले ७ गतेको बैठकमा उपस्थित नभए माधव नेपाल लगायतलाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘केही साथीहरु पेरिस डाँडाबाट रुवावासी गर्दै बिदावारी भएर हिंड्नुुभएको थियो रे । अर्याल होटलमा एक दुुई रात बास बस्नुभएको भन्ने सुनियो । प्रशस्त समय रहोस् भने चैत ७ गते बैठक बोलाएको छुु, टेलिभिजनबाटै बोलेपछि सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छुु । केन्द्रीय कमिटीका सदस्यहरु आउनु होला । अनुुपस्थित रहदैं जानुुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’