काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्व गर्नका लागि कुनै पनि दलले कांग्रेसलाई औपचारिक प्रस्ताव नगरेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्न प्रस्ताव गर्दा पनि कांग्रेस अग्रसर नभएको भनी नेतृत्वको आलोचना भइरहेका बेला उपसभापति निधिले यस्तो बताएका हुन्।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गतसाता भएको छलफलमा सहभागी जसपा नेताहरूले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव नगरेको उपसभापति निधिको भनाइ छ।
भक्तपुरमा शनिबार आयोजित नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघको कार्यक्रममा बोल्दै उपसभापति निधिले प्रश्न गरे, ‘प्रतिपक्षी कुन दल होला, जो सरकार बनाउन अग्रसर नहोस्? उनले सरकारको नेतृत्व गर्नका लागि वातावरण अनुकुल हुनुपर्ने सर्त अघि सारे।
कांग्रेसलाई गत निर्वाचनमा जनताले प्रतिपक्षमा बस्ने मत दिएको भन्दै कांग्रेस नेताहरु नै अहिले आएर सरकार गठनका लागि नेतृत्व अग्रसर नभएको भनेर आलोचना गरेकाप्रति उनले आश्चर्य व्यक्त गरे। वैकल्पिक सरकार गठन गर्न कांग्रेससँग पर्याप्त संख्या नभएको निधिको भनाइ थियो।
‘अलिकति पनि नैतिकता भएको भए १ मिनेट पनि ढिला नगरी सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो,’ निधिले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेको यो हो। यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो।’