काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन्।
शनिबार राष्ट्रिय सभागृहमा आयोजित युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले केपी शर्मा ओलीको प्रवृत्ति गलत भए पनि आफू छुट्टिने पक्षमा नभएको बताएका हुन्।
‘हामी केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा छैनौँ, तेत्रो लामो समयको मायाप्रीति कहाँ एकै रातमा सकिन्छ र’, नेता नेपालले भने, ‘केपीसँग मेरो मायाप्रिती ४८/४९ वर्षको भइसक्यो।’
उनले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई नै ब्युताएपछि पार्टी पुरानै अवास्थामा फर्किएको बताउँदै ओली यो कुरा मन्न तयार नभएको बताए।
‘पूर्व एमाले ब्युँतिनु भनेको पुरानो संगठन फेरि ब्युँताउनु हो, आज पार्टीभित्र विवाद भइरहेको कुरा त्यही हो’, उनले भने, ‘पूर्व एमाले ब्युँतिएपछि कहाँ, कुन मितिमा सुरु हुन्छ? आज पार्टीमा सबैभन्दा ठूलो विवाद त्यही छ। केपी ओली त्यको कुरा मान्न तयार हुनुहुन्न।’
उनले अदालतको फैसला अनुसर २०७५ जेठ ३ गते पहिलोको अवस्थामा फर्काउनु पर्ने बताए।
‘पार्टीलाई २०७५ जेठ ३ गते पहिल्यैको अवस्थामा त्यही संरचना, त्यही नेतृत्व, त्यही पदाधिकारी त्यही सदस्यलाई स्वीकार गरेर चल्नुहोस भनेर भन्यौँ’, उनले भने। उनले आफूहरुको सुझाब विपरीत फागुन २८ गते अवैधानिक बैठक बोलाएको बताए।