काठमाडौं- धुम्बाराहीस्थित आनन्दनगर बचत तथा ऋण सहकारीले सेयर सदस्य तथा निक्षेपकर्ताको ३३ करोड ७५ लाख ठगी गरेको छ ।
ठगिनेमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनाली, उद्योग विभागका पूर्वमहानिर्देशक ध्रुव राजवंशी, त्रिविका प्रोफेसर दीपक अर्यालसहित करिब हजारजना रहेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा विजयराज खनालले लेखेका छन्।
०६५ बाट सञ्चालनमा आएको यो सहकारीमा सेयरधनी प्रमाणपत्र पाएका ६ सय ७९ र प्रमाणपत्र नपाएका तीन सय २० जना सेयर सदस्य तथा निक्षेपकर्ता छन् ।
सञ्चालक, व्यवस्थापक र कर्मचारीले संस्थाको रकम दुरुपयोग गर्ने, धितोले थाम्नेभन्दा बढी कर्जा लगानी गर्ने तथा प्रमाणपत्र नै जारी नगरी सेयर सदस्य बनाउने गरेपछि सहकारी डुबेको हो।
सहकारीमा पूर्वसचिव मैनाली र उनका परिवारको तीन करोड तथा राजवंशी र अर्यालकोे ८०–८० लाख बचत छ । त्यस्तै, पूर्वउपराष्ट्रपति झा र उनको परिवारका सदस्यको नाममा बचत गरेको करिब १८ लाख पनि झिक्न पाएका छैनन् । ठूला ९० बचतकर्ताको मात्रै करिब १९ करोड बचत छ ।