काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज अहिले सबैतिरबाट उठेको छ। अरु त अरु, उनको आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रै पनि यो आवाज जबर्जस्त छ।
तर, प्रधानमन्त्री ओली टसको मस छैनन्। भनिरहेका छन्– ‘सक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिए भो, अविश्वास प्रस्ताव ल्याएर पारित गरे भो।’
प्रधानमन्त्री ओलीले भने झैं एमाले नेतृत्वको वर्तमान सरकारलाई माओवादी केन्द्रको समर्थन छ। र, माओवादी केन्द्रले समर्थन गरिराख्दासम्म ओली अंकगणितीय रुपमा बहुमतप्राप्त प्रधानमन्त्री रहन्छन्।
तर, ओलीसँगको सम्बन्ध कटुतापूर्ण बने पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तामा ‘रुचि’ देखाएको छैन। आखिर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन किन रुचि देखाइरहेको छैन?
माओवादीको तर्क– ‘देशलाई अराजकतामा नलैजाऔं’
सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि तत्कालीन नेकपाले वैधानिकता नपाएर एमाले र माओवादी छुट्टाछुटै पार्टीका रुपमा ब्युँतिएपछि धेरैको अपेक्षा थियो– माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ।
माओवादीले समर्थन फिर्ता लिनासाथै प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर, माओवादीले समर्थन फिर्ता नलिएपछि धेरैले प्रश्न गर्न थालेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट एक स्थायी कमिटी सदस्यले माओवादीले समर्थन फिर्ता लिएलगतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने निश्चित भए पनि नयाँ सरकार बन्ने स्थिति नभएकाले समर्थन फिर्ता नलिएको दाबी गरे।
‘हामीले समर्थन फिर्ता लिए एमाले एक्लैको बहुमत पुग्दैन, सरकार ढल्छ’, उनले भने, ‘तर, अर्को सरकार बन्ने निश्चित छैन। कम्तीमा देश अराजकतातिर नजाओस् भनेरै समर्थन फिर्ता नलिएका हौं।’ प्रधानमन्त्री ओलीको विकल्पमा अर्को सरकार बन्ने सुनिश्चित भएमा तत्काल समथर्न फिर्ता लिने दाबी उनले गरे।