काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीगत खर्च गर्ने क्षमता बढाउने गरी स्थानीय तहमा बजेट विनियोजन गरिने बताएका छन् ।
बुधबार नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताएका हुन् ।
पुँजीगत खर्च गर्ने क्षमता भएकाहरुले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको ओलीको भनाइ छ ।
‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र ? वस्तुत्ः हेर्नुहुन्छ भने प्रशासनिक खर्च बाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो । त्यहीँ जान्छ सबै । जहाँसुकै पनि पुँजीगत खर्च, खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो, ‘ओलीले भने, ‘क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन गाह्रो हुन्छ । त्यसकारण त्यो पुँजीगत खर्च हुनेगरी हामी विनियोजन गर्छौं । पुँजीगत खर्च नहुनेगरी कतै थुपार्ने कतै केही गर्ने भन्ने केन्द्र सरकारको सोच होइन । म साथीहरुलाई स्पष्ट भन्न चाहान्छु त्यस्तो सोच हुनै सक्दैन । थुपारेर राखेर, फ्रिज गराएर के अर्थ छ र ?’
प्रधानमन्त्री ओलीले स्थानीय तहहरुलाई अधिकार दिन नहिच्किचाएको पनि स्पष्ट पारे । स्थानीय तहले आफ्नो क्षमतालाई बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए ।