काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न सुरु गरिने बताएका छन्। त्यसका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताए।
बुधबार नेपाल नगरपालिका संघको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब काठमाडौंवासीले पानीको हाहाकार भोग्न नपर्ने दाबी गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय तहमा पुँजीगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताए।
पुँजीगत खर्च गर्ने क्षमता भएकाहरुले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको बताए।
‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र? वस्तुतः हेर्नुहुन्छ भने प्रशासनिक खर्च बाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो। त्यहीँ जान्छ सबै’, ओलीले भने, ‘जहाँसुकै पनि पुँजीगत खर्च, खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो। क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ। क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन गाह्रो हुन्छ।’