गोरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले भीडभाड हुने खालका गतिविधि नगर्न आग्रह गरेको छ । मंगलबार जिल्ला स्तरीय कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भीडभाड हुने खालका गतिविधि नगर्न आग्रह गरेको हो ।
कार्यालयले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ। कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको छ ।
बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न प्रशासनले आग्रह गरेकाे छ ।
स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गरे।
यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टिन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएकाे छ ।