काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ। स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टाइनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छ।
प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड—१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो। तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
झापाको मेची प्रादेशिक अस्पतालको नयाँ भवनमा राखिएको जिल्लाको एक मात्र कोभिड अस्पताल पनि संक्रमितको संख्या घटेसँगै बन्द थियो। उक्त अस्पतालमा बुधबारसम्म पनि ताला लागेको छ। तर, संक्रमण बढे पुनः सञ्चालन गर्न सम्बन्धित निकाय खटिएका छन्।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको कोभिड अस्पताललाई थप व्यवस्थित गरी सञ्चालन गरिने भएको छ।
भारतसँग सिमाना जोडिएको सुनसरीमा संक्रमितको संख्या वृद्धि हुन थालेपछि उच्च सतर्कता अपनाउन सबैलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।