काठमाडौं- बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।
आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गर्नेछिन्।
त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ । यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ।
त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुनेछ।
दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ। पानी वितरणका लागि निर्देशनालयले ३० हजार नयाँ धारा जडान गरेको छ भने अन्य ठाउँमा केयूकेएलको पुरानो पाइपमार्फत परीक्षण गर्दै पानी आपूर्ति तयारी गरिएको छ।