काठमाडाैं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका छन्।
शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाल र रावलमाथि कारबाही अघि बढाउने संकेत गरे।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले दुवै नेताले दिएकाे स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाहीयोग्य भएको प्रधानमन्त्रीले बताएको जानकारी दिए।
अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताएका छन् । ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको बताएका थिए ।
ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।’
ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने बताएका छन् ।