काठमाडौं– उपत्यकामा आज (आइतवार)बाट मेलम्चीको खानेपानी वितरण हुँदै छ । आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट औपचारिक रूपमा मेलम्ची खानेपानी वितरण हुने बताइएको छ।
आयोजनाको चर्चा सुरु भएको तीन दशकपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउँदै छन्। उपत्यकावासीको सपना नै बनेको मेलम्चीको पानी आज खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण गरिँदै छ।
दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै करीब ४ करोड लिटर पानीमात्र वितरण गर्ने तयारी गरेको आयोजनाले जनाएको छ।
कीर्तिपुर र भक्तपुरको पानीट्यांकीको काम केही बाँकी रहेकाले दोस्रो चरणमा मात्रै यी स्थानमा पानी वितरण गरिने आयोजनाको भनाइ छ।