काठमाडौं- म्यानमारमा सैनिक कुविरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बर्बर दमन गरेको छ । सुरक्षाकर्मीको गोलीबाट शनिबार मात्रै सयभन्दा धेरैको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् ।
समाचार एजेन्सी म्यानमार नावका अनुसार शनिबार ‘सशस्त्र बल दिवस’मा विभिन्न ४० सहरमा ठूलो प्रदर्शन भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले मृत्यु भएका प्रदर्शनकारीको संख्या फरक–फरक उल्लेख गरेका छन् ।
म्यानमार नावले एक सय १४ जनाको मृत्यु भएको बताएको छ भने बिबिसीले कम्तीमा ८९ जनाको ज्यान गएको उल्लेख गरेको छ । याङगुनमा मात्रै २४ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ ।
म्यानमारकै दोस्रो ठूलो सहर म्यान्डलेमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीको झन्डा बोक्दै प्रदर्शनकारी आन्दोलनमा उत्रिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
न्युज आउटलेट्सले फेब्रुअरीदेखि म्यानमारमा रक्तपातको रिपोर्टिङ गर्नुपरिरहेको उल्लेख गरेको छ । मुख्य सहर याङगुनस्थित अमेरिकन कल्चर सेन्टर क्षेत्रमा पनि गोली चलेको थियो । तर, त्यसमा कोही घाइते वा प्रदर्शनकारीको मृत्यु नभएको अमेरिकी दूतावासले जनाएको छ । याङगुनमा सेनाले गस्ती बाक्लो पारेको छ ।
सेनाद्वारा गरिएको नरसंहारको सर्वत्र विरोध भइरहेको छ । युरोपियन युनियन (इयू)ले बर्बरतापूर्ण दमनले म्यानमारको ‘७६औँ सशस्त्र बल दिवस’कै अपमान भएको उल्लेख गरेको छ।
‘आजको दिन आतंक र बेइज्जतीका रूपमा कुँदिएको छ, केटाकेटीसहितका हतियारविहीन नागरिकको हत्या आपराधिक कार्य हो,’ इयूले भनेको छ।
त्यस्तै, म्यानमारस्थित अमेरिकी र बेलायती दूतावासले पनि विरोध जनाएको छ । बेलायती दूतावासले ‘निःशस्त्र नागरिकलाई गोली हानेर म्यानमार सेना आफ्नै बदनामी’ गरिरहेको प्रतिक्रिया दिएको छ । त्यस्तै, अमेरिकी दूतावासले निहत्था र निर्दोष प्रदर्शनकारीको हत्या भइरहेको बताएको छ । म्यानमारस्थित ह्युमन राइट्स एसियाका प्रतिनिधि फिल रोबट्र्सनले सेनाले गरिरहेको दमनले स्तब्ध बनाएको बताएका छन्।