काठमाडौं- नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र भीम रावलालई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्षका नेता आक्रोशित भएका छन्।
सामाजिक सञ्जालमार्फत उनीहरूले विरोध जनाइरहेका छन्।
यसै क्रममा नेत्री रामकुमारी झाँक्रीले अरूलाई अपमान र कारबाही गर्नु कमजोरहरूको अन्तिम अस्त्र भन्दै कारबाही गर्ने पक्षलाई चेतावनी दिएकी छन्।
सांसदसमेत रहेकी नेत्री झाँक्रीले नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएको दिन सोमबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो– जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने। हेक्का होस्– पृथ्वी गोलो छ।’
पार्टीविरोधी गतिविधि गरेको तथा ‘कारबाहीयोग्य’ स्पष्टीकरण दिएको आरोपमा अध्यक्ष ओलीले नेताद्वय नेपाल र रावललाई कारबाहीस्वरूप अध्यक्ष ओलीले ६ महिनाका लागि एमालेको साधारण सदस्यताबाट निलम्बन गरिएको घोषणा गरेका हुन्। अझै ‘नसच्चिए’ थप कारबाही गरिने चेतावनी उनले दिएका छन्।
कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।
— Ram kumari Jhakri (@Jhakri_didi) March 29, 2021