काठमाडौं- नेकपा एमाले ओली समूहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ। नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन्।
एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ।
सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो। तर होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य रतन थापाले बताए।
अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले नै गरेकाे खबर आजको नागरिक दैनिकमा छापिएको छ।
अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन्। उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारी भइरहेको उनले बताए।