काठमाडौं– एमाले र माओवादी एकीकरण भई बनेको नेकपालाई पुरानै अवस्थामा पुर्याउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकन निवेदन दर्ता गराउने भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु आज ११ बजे सर्वोच्च अदालतमा पुगेर पुनरावलोकन निवेदन दर्ता गराउने तयारी गरेका हुन् ।
फागुन २३ मा अदालतले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पूर्ववत् रुपमै ब्युँताएपछि माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड सर्वोच्च अदालतमा निवेदन दर्ता गराउन जान लागेका हुन्।
कानुन व्यवसायीसँगको लगातार परामर्शपछि माओवादीले निवेदन लिएर अदालत जाने तयारी गरेको हो। अदालतले कानूनी सिद्धान्तविपरीत फैसला गरेको देखिएमा पुनरावलोकन गर्न सक्ने प्रावधानअनुसार अध्यक्ष प्रचण्डले अदालतमा निवेदन दिन लागेका हुन्।
फैसला भएको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिनुपर्ने कानुनी प्रावधान छ। यो विषयमा अध्यक्ष दाहालले एमाले नेता माधव कुमार नेपालसँग पनि परामर्श गरेका थिए।