काठमाडौं– नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् ।
पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’
ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो ।
उनीहरुमध्ये जवाफ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले सोमबार मात्र ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । भुसाल र पाण्डेलाई भने २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।
भुसालले ओलीमा गम्भीर विचलन आएको र एमालेलाई विभाजन गर्न उद्धत रहेको आरोप लगाएका छन् । भुसालले एमालेलाई अगाडि बढ्न नदिन ओली अग्रसर भएको भन्दै पार्टीलाई बन्धक बनाएर ओलीले सत्ता र शक्तिको भोग गरेको आरोप लगाएका छन् ।
भुसालले भनेका छन्, ‘मेरो लाख-लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ । आगे तपाईंकै इच्छा ।’