काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भेट भएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् ।
देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए । उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए ।
ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेकाे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
‘तपाईं प्रधानमन्त्री बन्नुस् । यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ । अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’
काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ । देउवा भने अझै तयार देखिँदैनन् । उनले दाहाललाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफ दिए ।
देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ छ ।