गोरखा– २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि एसियाली विकास बैंक (एडिबी)को सहयोगमा लुङटेल भज्याङ–नयाँगाउँ सडक कालोपत्रे भयो । नयाँ गाउँ भच्चेक-नम्कि हुदैं सिरानडाडाँ कालाेपत्रेपनि भयो ।
सडक कालोपत्रे भएपछि यहाँका जनताले आशा गरेका थिए– पर्यटकीय गाउँ नम्की र सिरानडाडाँ झन् परिचित हुन्छ । आन्तरिक तथा बाह्य पर्यटक आउँछन् र यहाँको जीविकोपार्जनमा टेवा मिल्छ ।
यातायातको पहुँच पुगेपछि अहिले जिल्लाको अजिरकोट गाउँपालिकाका यी क्षेत्र चलायमान भएका छन् । भूकम्प आपतकालिन परियोजना अन्त्रगतको करिब ४० किलोमिटर सडक खण्ड कालोपत्रे भएपछि यो क्षेत्रमा पर्यटकसंगै यही क्षेत्रका स्थानीयको समेत जीवन चलायमान हुदैं आयो । तर, कोरोनाका कारण सोचेको जस्तो चलायमान भएन । विश्व नै कोरोनाको चपेटामा परेको समयमा यो ठाँउपनि अछुतो रहन सकेन ।
भूकम्पपछि खण्डहर झैँ बनेको अजिरकोटका यी गाउँ जुर्मुराउन निकै समय लाग्यो । भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न नम्कीका स्थानीयवासी ३० महिना (माघ १५, २०७४) पछि पुनः जुटेर होमस्टे सुचारु गरे ।
गाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न २०७० सालमा थालिएको थियो नम्की होमस्टेको अवधारणा । विनाशकारी भूकम्पपछि कादुरी नेपाल नाम गैरसरकारी संस्थाको आर्थिक सहयोगमा टिनले बारिएका एक शैलीका करिब ५० भन्दा बढी घर निर्माण भयो । २०७४ को भदौ देखि नम्कीमा निर्माण भएका घरमध्ये १० घर मिलेर होमस्टे सञ्चालन गरे । त्यही होमस्टेका आडमा अहिले जुवा–तास तथा कौडा मौलाएको स्रोत दाबी गर्छ ।
यी ठाउँमा जुवा खेल्न स्थानीय मात्र होइन, पोखरा, चितवन देखिका उच्च व्यक्ति तथा अन्य व्यापारीसम्म यहाँ आउँछन् ‘जुवा–तास तथा कौडा’ खेल्न । उनीहरूलाई लिन-लैजान निलो नम्बरको माइक्रोसमेत व्यवस्था हुने गरेको स्रोतको दाबी छ ।
स्रोत भन्छ– ‘भूकम्पपछि बिस्तारै उठ्दै गएको यस क्षेत्रमा पर्यटन आगमन होला । स्थानीयको जीवनस्तरमा विकास होला तथा पर्यटन क्षेत्रमा यस ठाउँको प्रचार–प्रसार होला भनेर होमस्टे सञ्चालनमा ल्याईयो । तर, स्थानीय केही ‘दलाल’ले यही होमस्टेको आडमा जुवा–कौडा खेलाएर हाम्रो गाउँलाई नै बदनाम बनाउन लागे ।’
स्रोतका अनुसार यो ठाउँमा स्थानीय जनप्रतिनिधि नै बसेर जुवा–तास तथा कौडा खेल्छन् । त्यो पनि प्रहरीको घेरामा रहेर । स्रोत भन्छ– ‘१३ जनाको दरबन्दी रहेको इलाका प्रहरी चौकी भच्चेकमा जम्मा ७ जना प्रहरी कार्यरत छन् । त्यो पनि २ जना सञ्चारका । बाँकी रह्यो ५ जना । उनीहरूले कता मात्र हेरुन् । त्यसैले यो क्षेत्रमा मौलाउँदै गएको यस्ता खालका विकृति हटाउने हो भने पहिला स्थानीय प्रशासन बलियो हुनु पर्यो । अनि मात्र यस्ता खालका कामबाट मुक्ति पाइला । नत्र त यो क्रम निरन्तर चलिरहने छ ।’
६ जना जुवाडे पक्राउ
विश्वभर नै कोरोनाको प्रभाव कायम भएको समयमा यो क्षेत्र पनि अझुताे रहेन । त्यतिमा होइन यही क्षेत्रका केयाैं मान्छे समेत प्रभावित भए । तर पनि यस्ता खालका क्रियाकलाप निरन्तर चल्यो करिब २ वर्ष । तर, यो बिचमा न कुनै जुवाडे समातिए । न त अन्य कोही नै । अहिले यही क्षेत्रको भच्चेकबजारमा अवैध रूपमा कौडा खेलिरहेका छ जना जुवाडे पक्राउ परे।
जिल्लाका अन्य भागका स्थानीय तहमा यस्ता खालका अवैध खेल चल्ने गर्छन् । त्यति मात्रै होइन जिल्ला सदरमुकाममा पनि एउटा अखडा छ जहाँ दैनिक जुवा-तास, कौडा खेलाइन्छ । गोरखामा केही समय कार्यरत सुरक्षा निकायका एक उच्च अधिकारीसंगकाे कुराकानीमा उनले हामीसंग भनेका थिए- ‘तपाई जिल्लाभित्रका अन्य ठाउँमा जानु नै पर्दैन । जिल्ला सदरमुकाम नै त्यस्ता खालका जुवा-तास तथा कौडा खेलाइन्छ ।’
उनले हामीसंग भनेका कुरा गत मंसिरमा प्रमाणित भयो । जिल्लाका एक उच्च व्यक्ति पक्राउ परे । उनलाई प्रहरीले पक्राउ गरी ५० हजार तिरेर छोडिदियो । उनलाई सत्ता र शक्तिको आडमा आएको दबाबले नै छोडिदियो । त्यो पनि जिल्ला सदरमुकाम नै। तर, पनि जिल्लाको सुरक्षाको कमान्ड सम्हालेका जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा सशस्त्र प्रहरी बल भए पनि जुवाडेहरू सत्ता र शक्तिका आडमा यसरी नै अवैध अखडा निरन्तर सञ्चालन गरिरहेका छन् । उनीहरूलाई कसले कार्वाहि गर्ने ? यही विषय जन-जनकाे मनमा उठिरहेको छ ।
अझ यस्ता अखडा स्थानीय जनप्रतिनिधिकै साथ र सहयोगमा सञ्चालन हुदैं आएको छ ।
गाउँपालिकाको केन्द्रमा रहेको भच्चेकबजारमा अवैध रूपमा कौडा खेलिरहेको अवस्थामा सोमबार राती ६ जनालाई प्रहरीले पक्राउ गर्याे । स्थानीय भिमराज गुरुङको घरमा अवैध रूपमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वडा न ३ का सुगम गुरुङ, अमिर गुरुङ, सोम बहादुर गुरुङ, विकास गुरुङ तथा सिरानचोक गाउँपालिका वडा नं ५ का ठाकुर बयलकोकी र प्रकाश पोखरेल रहेका छन् । उनीहरूको साथबाट नौ हजार ५ सय ९० रुपैयाँ नगद सहित १६ थान कौडा पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
काैडाखालबाट नौ हजार बरामद
सामान्यता, जुवा तास खेल्दा कोड भाषा (साङ्केतिक भाषा)का रूपमा पैसा राखेर जुवा खेलाउने गरिन्छ । स्थानीय एकले भने- ‘त्यहाँ सामान्यतया ४/५ लाखविना खालमा बस्न पाइन्न । तर, अहिले प्रहरीले ९ हजार मात्र बरामद गर्याे भन्नु कि हास्यास्पद छ।’ उनका अनुसार यहाँ करिब १० लाखसम्मका जुवा खाल चल्ने दाबी गर्छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश दाहाल अवैध जुवा तास तथा अन्य क्रियाकलाप गर्नेलाई नछोड्ने दाबी गर्छन् ।
‘भच्चेकबाट ६ जना जुवाडे ९ हजार नगदसहित पक्राउ गरी इलाका प्रहरीले जिल्लामा पठाएको छ,’उनले भने ‘पक्राउ परेका उनीहरूलाई जुवा सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।’
जिल्लाका सुरक्षा निकायका सबै अधिकारी सरुवा भएर आएका छन्। भौगोलिक हिसाबले विकट रहेका गोरखामा यस्ता खालका गतिविधि रोक्न स्थानीयलाई आग्रह गर्दै उनी भन्छन्- ‘अब त हाम्रो आफ्नै पनि एजेन्ट सञ्चालन हुदैं छन् । अब स्थानीयहरूको सूचनाका आधारमा त्यस्ता स्थानमा हामी विशेष निगरानी गरी अनुसन्धानका पाटो अगाडी बढाउँछौँ ।’
तस्बिर : राज तामाङ