काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनदेशबाट अहिलेको संसदीय अंकगणित हेरफेर नगरे देश अगाडि नबढ्ने दाबी गरेका छन्।
शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको देशको आवश्यकता र संसदीय अंकगणित मेल नखाएको बताए।
‘कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ। कहिले कृत्रिम ढंगले केही मानिसले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्’, उनले भने, ‘संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधै प्रतिनिधित्व गर्छ भन्न सकिँदैन। त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंकगणितमा अनुपयुक्त खेल भइरहेको छ भने र त्यसले उपयुक्त आकार लिने सम्भावना छैन भने ताजा जनादेशमा जानुपर्छ।’
उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा जानुपर्ने बताए।
उनले देशको, जनताको, विकासको आवश्यकता अनुसारको अंकगणित संसदमा बनानुपर्ने बताए। उनले संसद सरकार बनाउने, संविधान संशोधन, कानुन निर्माण परिवर्तन गर्न थलो भएको बताउँदै त्यसलाई देशको आवश्यकता अनुसारको बनाउनुपर्ने बताए।
‘संसद सरकार बनाउने, संविधान संशोधन, कानुन निर्माण र परिवर्तन गर्न सक्ने थलो हो। त्यो थलोलाई देशको आवश्यकता अनुसार अंकगणितीय बनावटमा लैजानुपर्छ’, त्यसलाई भरसक म्याने गर्न सक्नुपछ? त्यो आवश्यकताभन्दा विपरीत भयो, विभिन्न व्यक्ति र तत्वमा गयो भने ताजा जनादेशमा जानुपर्छ।’
उनले आवधिक र देशको आवश्यकतासँग अंकगणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूहरुले संसद विघटन गरेको दावी गरे।
‘राष्ट्रिय आवश्यकतासँग अंकगणितले तादात्मयता राखेन, राख्न कोशिस गर्यौ, भएन। तब ताजा जनादेशमा जानु पर्थ्यो’, उनले भने, ‘मेरो विचारमा ढिलोचाढो ताजा जनादेशमा गएर अहिलेको अंकगणितमा हेरफेर नगरी, अनुकूल अंकगणितविना देश अगाडि जानै सक्दैन। त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ। अबको अंकगाणितको वनावट देश र जनताको आवश्यकता पूर्ति गर्ने खालको हुनुपर्छ।’