काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबाट बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाका कारण कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन्।
दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार असफल भएकाले देशलाई निकास दिन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको भन्नेमा सबै दलहरु पुगेको बताए। ‘
‘५ वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिस्हरु ३ वर्ष पनि टिक्न सकेनन्।यो सरकार असफल भइसक्यो। देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ’, सिंहले भने।
नेपालको संविधान निमार्ण गर्न पनि ४/४ जना कम्युनिस्ट नेताहरु असफल हुदाँ अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संविधान निमार्ण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी छ।
नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्वमा सेवाको भावना हुन जरुरी रहेको बताए। उनले भने, ‘कम्युनिष्टहरुमा सेवाको भावना छैन। अहिलेको नेतृत्व इमानदार हुनुपर्छ, सेवाको भावना हुनुपर्छ। राष्ट्रियता र नैतिकता हुनुपर्छ।’
सरकार संघीयताभन्दा केन्द्रीकृत शासन व्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप छ।