काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्।
माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन्। प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ।
‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन’, समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन्।
प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि जनता समाजावादी पार्टी (जसपा) सँग प्रस्ताव गरे पनि त्यो सार्थक बन्न सकेको छैन। सत्ता सहकार्य कोसँग गर्ने भन्ने विषयमा जसपाभित्र आन्तरिक विवाद भएपछि उसले ओली नेतृत्वको सरकारलाई समर्थन गर्न सकेको छैन।
जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र नेता डा.बाबुराम भट्टराई ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने र अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो समर्थन गर्ने कित्तामा देखिएका छन्।