काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताएका छन्।
मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री र केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको बताएका हुन्।
‘संविधानसभाको निर्वाचन २०७० सालमा मलाई ममाथि बम हान्नेलाई गृहमन्त्री बनाए, केही पनि आधार नभएकालाई स्थायी समिति बनाए। गल्ती त भएकै हो’, प्रचण्डले भने।
उनले पार्टीप्रति प्रतिबद्ध, इमान्दार, दुःख गरेकाहरुलाई ध्यान नदिएर नेतृत्वलाई घेराबन्दी गर्नेलाई ठाउँ दिएको भन्दै गल्ती महसुस गरेका हुन्। उनले दुःखसुखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशीविदेशीसँग लागेको र त्यसैका कारण पार्टी कमजोर बन्न पुगेको भन्दै आत्मालोचना समेत गरे।
उनले संविधान र व्यवस्थामाथि षड्यन्त्र भएको भन्दै र जनयुद्धबाट उपलब्धिमाथि षड्यन्त्र भइरहेको बताए। उनले अब आफू काठमाडौँमा कम र जनताका बीचमा धेरै बस्ने भन्दै त्यसका लागि रुकुमको सभाले आफूमा ऊर्जा थपेको बताए।
‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै आत्मालोचना गरेका छन् ।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको भन्दै प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताए ।
‘पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि यो प्रतिगमन हो भनेर त्यसविरुद्ध संघर्ष गर्न देशव्यापी अपिल गरेँ । जनताले साथ देलान् त भन्नेमा संशय पनि थियो तर देशभर जाँदा जनता प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध हाम्रो पार्टीलाई साथ दिन तयार छ भन्ने मैले देखेँ,’ उनले भने ।
जनताको बलमा त्यतिबेला प्रतिगमन रोकिए पनि जनताका उपलब्धि विरुद्ध षडयन्त्र अझै जारी रहेको उनले बताए ।
‘देशभित्र र बाहिर अनेक षडयन्त्र र प्रपञ्च भइरहेको छ । हामी त्यसका विरुद्ध लडिरहेका छौं,’ उनले भने, ‘तर काठमाडौंमा बसेर लडेको लडाइले हामीलाई धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, जनताको बलमा हामीले सफलता पाएका छौं ।’
यस्ता षडयन्त्रलाई परास्त गर्ने तागत हिजो जनयुद्धका बेलामा रहेका आधार इलाका, हिजोका योद्धा, घाइते र सहिद परिवारमा मात्र छ भन्ने महसुस गरेर नै आफू रुकुम आइपुगेको उनले बताए