काठमाडौं– नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी केन्द्रका मन्त्रीहरुको सांसद पद आज गुम्ने भएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर सुनाउने छन्।
मंगलबार माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहले पद त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गरेको थियो।
‘यस दलका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र प्रदेश समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले दल त्या गरेको निर्णय भएको हुँदा सो दल त्याग गरेको सूचना नेकपा कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रतिनिधि सभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधि सभामा पेश गरेका छौं’, ‘मंगलबार माओवादी केन्द्रले संसद सचिवालयमा पठाएको पत्रमा भनिएको छ, ‘ऐ दफा ३४ (२) ले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित सदन तथा सभामा समेत पेश गर्नु हुन अनुरोध छ।’