काठमाडौं– नेकपा माओवादी केन्द्रको कारवाहीपछि प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएका चारजना मन्त्री आजदेखि मन्त्रालय नजाने भएका छन् ।
उनीहरुलाई प्रधानमन्त्रीले चाँडै नै सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने शहरी विकासमन्त्री प्रभु साहले बताए । उनीहरुले पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने हुन्छ ।
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइने नेम्वाङले बताए । सोही व्यवस्था अनुसार मणि थापा र दावा लामा मन्त्री कायम छन् ।
६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ ।