लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)मिल्नु भनेको घाम र जुन मिल्नुजस्तै भएको बताएका छन्।
मुख्यमन्त्री गुरुङले शुक्रबार बेसीसहर-१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ-आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए।
वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै नेकपा एमालेका प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले भने, ‘एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ। उनीहरुको अवस्था सजिलो छैन।’ उनले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए।
मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्त्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरेको बताए। मुख्यमन्त्री गुरुङले भने, ‘समृद्धिका लागि जग बसालेका छाैँ। थप नतिजा छिट्टै देखिन्छ।’
उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए। ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ।