काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा आफ्नो भूमिका देखेर पूर्व एमालेका नेता कार्यकर्ताले अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित हुने गरेको बताए।
शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले सञ्चालन गरेको केन्द्रीय समिति बैठक र प्रशिक्षणलाई हेरेर पूर्व एमालेका नेता कार्यकर्ता उत्साहित हुने गरेको बताए।
उनले भने, ‘केपीले त बर्बाद पार्ने भयो, सत्ता कब्जा नै गरेर हामी सबैलाई सिध्याउने भयो भनेर कांग्रेस आउनु ठूलो कुरा ठान्छु ।’ जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उनले भने, मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’
नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने उनले सुनाए ।
‘हामीहरु र नेकपा एमालेको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ,’ शनिबार भएको कर्मचारीको कार्यक्रममा माधवकुमार नेपाल समूहका नेताले आफूहरुले भन्दा राम्रो बोलेको सुनाउँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अर्कोले डिभोर्स गरिदिए पनि त्यो लभ त गएको छैन नि ।’
जसपाका नेताहरुसँग पनि आफूहरुको वेभलेन्थ मिल्ने भन्दै उनले मोर्चा बन्नसक्ने सुनाए । कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्र्नुपर्ने बताएका उनले मोहन विक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग मोर्चा बन्नसक्ने सम्भावना औल्याए ।