काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ ।
चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहकाे आयोजना गरेको छ ।
सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।
टुँडिखेलमा पूर्व-दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन शुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुति छ ।
घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ । ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।