काठमाडौं- ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौँडा जोड्ने कान्ति लोकपथ निर्माण थालिएको ६४ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । आयोजना निर्माणमा अहिलेसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन।
सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ मा ट्रयाक खन्न सुरु गरिएको थियो । यो काम ०१६ मा सकियो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए।
राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ । तर, त्यसयता सडकको स्तरोन्नतिको काम कछुवा गतिमा समेत हुन नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र सुदीप शिवाकोटीले लेखेका छन्।
काठमाडौंस्थित कान्ति लोकपथ सडक आयोजनाका अनुसार आर्थिक वर्ष ०७०र७१ यता मात्रै दुई अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ । त्यसअघि भएको खर्चको विवरण न आयोजनासँग छ, न सडक विभागसँग नै । ‘ट्रयाक खन्ने काम ०१६ मै सकिएको देखिन्छ । तर, सडक निर्माणको काम अझै हुन सकेको छैन । आयोजनामा पछिल्लो समय भएको खर्च विवरण त होला, तर पहिला कति भयो त्यसको हिसाब नै छैन,’ आयोजना कार्यालयका पूर्वप्रमुख कपिलविष्णु काफ्लेले भने।